Comments Add Comment

कस्तो हुनुपर्छ मुलुकको अर्थतन्त्र हाँक्ने राष्ट्र बैंकको आगामी गभर्नर ?

राष्ट्र बैंकका हालका गर्भनर महाप्रसाद अधिकारीको ५ वर्षे गर्भनर कार्यकाल चैत्र २४ गते समाप्त हुँदैछ । यतिखेर सरकार नयाँ गर्भनर नियुक्ति गर्ने तरखरमा लागिपरेको छ ।

नेपाल राष्ट्र बैंकको नयाँ गर्भनर छान्न सरकारले यहि चैत्र ११ गते अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरिसकेको छ । उक्त समितिमा पूर्व गर्भनर विजयनाथ भट्टराई र विज्ञका तर्फबाट राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेल समितिमा रहेका छन् ।
देशको अर्थतन्त्र अहिले डामाडोल स्थितिमा रहेको छ । विगत वर्षहरुमा विभिन्न बैंक तथा बित्तीय संस्थाहरुले कर्जा प्रवाह गरेको कर्जा असुली नभएका कारण बैंकिङ्ग क्षेत्रमा ठूलो हलचल मच्चिदै आएको छ र बैंकहरुको खराब कर्जा, एन.पि.एल, नन् परफर्निङ लोन ह्वात्तै बढेर गई खूद नाफामा गिरावट आई लोन लस प्रोभिजनमा ठूलो रकम राष्ट्र बैंकमा राख्नु परेको छ । त्यसैले शेयरधनीहरुले लाभांस पाउनबाट बञ्चित हुँदै आइरहेको अवस्था छ ।

भर्खरै सम्पत्ती शुद्धिकरण निवारणका लागि काम गर्ने अर्न्तराष्ट्रिय संस्था एफए टिएफले ग्रेड लिस्टमा पनि नेपाललाई राखेको छ । ग्रेड लिस्टबाट माथि उठेर काम गर्न सक्ने व्यक्ति ने.रा.बैंकमा गर्भनरको रुपमा आउनु पर्छ । अर्कोतर्फ गर्भनर नियुक्त गर्दा दलिय भागबण्डा नगरी स्वच्छ छवि र कहिंकतै राजनीतिको हावाले नछोएको व्यक्ति गर्भनरको रुपमा ल्याउनु पर्छ । राजनीति पार्टीहरुको झण्डा नबोकेको व्यक्ति गर्भनरमा नियुक्त हुनुपर्छ । कहिंकतैबाट पनि कुनै पनि राजनीतिक पार्टीहरुको राष्ट्र बैंकमा नचाहिंदो नमिल्ने राजनीतिक दवावलाई परास्त गर्न सक्ने व्यक्ति गर्भनर हुनुपर्छ । पैसा र पावरको सेयरिङ्ग नगर्ने र राष्ट्र बैंकको काम कारवाहीलाई प्रभावकारी रुपमा अघि बढाउन सक्ने खुबी भएको व्यक्तिलाई गर्भनरमा नियुक्ति गर्न सके मात्र देशको अर्थतन्त्र लयमा गई देश आर्थिक समृद्धिको बाटोमा गई समृद्ध नेपाल, सुखी नेपाली बन्न सक्छ ।

नेपाल राष्ट्र बैंकको गर्भनर भनेको सरकारको आर्थिक सल्लाहकार पनि हो । त्यसैले देशमा जुनसुकै दलको सरकार परिवर्तन भएर आएता पनि गर्भनरले कसैको दवावमा रहेर राष्ट्र बैंक हाँक्नु हुँदैन । त्यस्ता दवावलाई निस्तेज पार्न सक्ने साहसिलो आँट भएको व्यक्ति राष्ट्र बैंकको गर्भनर हुनुपर्छ ।
राष्ट्र बैंकको प्रमुखका रुपमा गर्भनरले नेपाली मुद्राको निष्काशन, बैंकिङ्ग तथा वित्तीय क्षेत्रको नियमन, निरीक्षण, सुपरिवेक्षण, अनुगमन, मूल्यस्थिरता, विदेशी बिनियम व्यवस्थापन, आर्थिक अनुसन्धान तथा अन्वेषण, बैंकिङ्ग तथा भुक्तानी प्रणालीको विकास लगायतका क्षेत्रहरुमा राम्रो दख्खल ज्ञान भएको, राष्ट्र बैंक भित्रका आफ्ना कर्मचारीहरुलाई समान व्यवहार गरेर लैजान सक्ने खुवि भएको व्यक्तिलाई सरकारले गर्भनरमा नियुक्त गर्नु पर्दछ । गर्भनर चयन गर्दा योग्य र मेरिटको आधारमा गर्नुपर्छ । यो मेरो पार्टीकोे सरकार बनेको छ भनेर घमण्ड नगरी मेरिटको आधारमा गर्भनर नियुक्ती गर्नुपर्छ नत्र भने सरकारले र देशले ठूलो मूल्य चुकाउनु पर्छ र देश नराम्रोसँग अर्थतन्त्रको खाडलमा फस्न सक्छ । त्यसैले अब सरकारले ढिलो नगरी एक सक्षम, इमान्दार, कर्तव्यनिष्ठ गर्भनरको नियुक्ति गर्न आवश्यक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ