Comments Add Comment

रोजगार मेलामा काम खोज्दै युवादेखि वृद्धसम्म

नेपालगन्ज । शुक्रबारदेखि नेपालगन्जमा चलिरहेको रोजगार मेलामा मेलामा बेरोजगार व्यक्तिहरूको आकर्षण देखिएको छ । बाँके जिल्लाका ७ स्थानीय तहसँगको सहकार्यमा नेपालगन्ज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको मेलाको दोस्रो दिन शनिबार समूह छलफल समेत चलिरहेको छ ।

रोजगारी पाउने र रोजगारी दिने दुबै पक्षलाई एकै ठाउँमा राखेर सङ्घले मध्यस्थकर्ताको काम गरिरहेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले बताए । मेलामा रोजगार प्रदायक होटल तथा उद्योग, व्यावसायिक प्रतिष्ठानले रोजगारीका लागि मेलामा आएकाहरूको आवेदन लिएका छन् ।

 

स्नातक तह अध्ययनरत नेपालगन्ज उपमहानगरपालिका–१२ का २४ वर्षीया मनिसा घर्ती कामको खोजीमा छन् । मेलामा आफूले गर्नसक्ने काम पाउने आसा गरेको बताइन् । यस्तै, जानकी गाउँपालिका–३ रम्मुवापुरका ६० वर्षीय ज्येष्ठ नागरिक सागर गढियाले पनि जीविकोपार्जनका लागि केही काम पाइन्छ भनेर मेलामा सोधिखोजी गर्न आएको बताए । ‘यो उमेरमा बल लाग्ने काम गर्न सक्दिनँ । तर, सानोतिनो काम केही भए गुजरा चल्ने थियो’ उनले भने ।

मेलाले तत्काल र दीर्घकालीन रूपमा रोजगार सिर्जना गर्ने सङ्घको विश्वास छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष धामी मेलाबाट रोजगारदाता र बेरोजगार व्यक्तिलाई ठुलो लाभ मिल्ने दाबी गर्छन् । मेला अवधिमा मात्र कम्तिमा सय जनाले रोजगार पाउने आँकलन गरिएको समेत उनले बताए ।

मेलामा तालिम प्रदायक सरकारी तथा गैरसरकारी निकायप्रति पनि बेरोजगार व्यक्तिको आकर्षण रहेको छ । मेलामा बाँकेका ग्रामीण क्षेत्रबाट समेत रोजगारी माग्न वृद्धवृद्धाहरू समेत आएका छन् । मेलामा विभिन्न प्रकारका ४० वटा स्टल राखिएको छ । रोजगारीको अवसरका लागि मेला महत्त्वपूर्ण माध्यम बनेको स्थानीय तहका रोजगार संयोजकको भनाइ छ । 

‘बेरोजगारलाई लक्षित गरी यो प्लेटफर्मको विकास गरेका हौं’ कोहलपुर नगरपालिकाका रोजगार संयोजक आशिष वर्मा भन्छन् ‘युवालाई सिकाइसँगै दक्षता, सीप कला, अनुभवका आधारमा विभिन्न उद्योगसँग जोडिने मेलाबाट अवसर प्राप्त पनि हुन्छ’ मेलाबाट धेरैभन्दा धेरै युवाहरू लाभान्वित हुने उनको विश्वास छ ।  

स्थानीय तहमा सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारी दिलाउनु मेलाको मुख्य उद्देश्य रहेको नरैनापुर गाउँपालिकाका रोजगार संयोजक मकबुल अहमद मुकेरीले जानकारी दिए । यो मेला बाँकेमा पहिलो पटक सञ्चालन भएकाले झन् महत्त्वपूर्ण भएको र मेलाबाट धेरैले लाभ लिन सक्ने मुकेरीले बताए ।

बाँकेका अधिकांश उद्योगीले भारतीय कामदारमार्फत आफ्ना उद्योग चलाइरहेका छन् । नेपाली कामदार भने कामका लागि भन्दै बर्सेनि भारतलगायत विभिन्न देशमा गइरहेको विडम्वनापूर्ण स्थिति छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ