काठमाडौं । आजबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एक साथ बिहान ८ बजेदेखि एसइई परीक्षा शुरु हुने छ ।
परीक्षाको तालिकाअनुसार आज परीक्षार्थीले अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा दिँदै छन् ।
माध्यमिक शिक्षा परीक्षा एसईईमा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ । गएको वर्ष २०८० को एसइईमा चार लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी थिए । गत वर्षको तुलनामा यस वर्ष परीक्षार्थी सङ्ख्या ४९ हजार २८६ ले बढी रहेको छ ।
१५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक, केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटाउने व्यवस्था मिलाइएको छ भने ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको बोर्डले जानकारी दिएको छ ।
चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अङ्ग्रेजी ९इलेक्टिभ इङ्लिस० को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद, सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्वितीयको परीक्षा सञ्चालन हुनेछ ।
बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने समेत जनाएको छ । न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् । लेटर ग्रेडिङ प्रणालीमै यस वर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पुर्याउने लक्ष्य छ । विसं २०८० को एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए ।
