काठमाण्डौं। जनता समाजवादी पार्टी नेपालले सरकारको बारेमा कार्यकारिणी समितिमा छलफल गर्ने भएको छ।
हिजोदेखि जारी कार्यकारिणी समितिको बैठकमा सरकारको विषयमा छलफल हुने बताइएको छ । जसपा नेपालले सरकारलाई बाहिरबाट समर्थन गरेको छ तर सार्वजनिक रूपमै सरकारको कामप्रति असन्तुष्टि जनाउँदै आएको छ । सो पार्टी सदनमा सत्तापक्षको कुर्सीमा बसेको छ तर त्यहाँ जसपाका सांसदहरूले विपक्षी दलको सांसदले जसरी आफ्नो धारणा राखिरहेका हुन्छन् । सरकारलाई समर्थन गरे पनि जसपा नेपालले सरकारसँग विपक्षीको जस्तो व्यवहार गरिरहेको छ ।
त्यसैले सरकारमा बस्ने कि नबस्ने विषयमा कार्यकारिणी समितिको बैठकमा छलफल हुने एक नेताले बताए । ती नेताका अनुसार जसपा नेपालले धेरै दिनसम्म सरकारलाई समर्थन दिइ रहन नसक्ने देखिएको छ । यो बैठकमा पार्टीले आफ्नो दिशा स्पष्ट गर्ने उनले बताए ।
सरकारले ल्याएको बजेटको पनि जसपा नेपालले आलोचना गरेको छ । भिजिट भिसा प्रकरणमा पनि जसपा नेपालले सरकारको आलोचना गरेको छ भने भूमि सम्बन्धी अध्यादेश फिर्ता गराउन सरकारलाई बाध्य पार्ने पनि जसपा नेपालले नै हो । संसदमा प्रस्तुत भूमि सम्बन्धी विधेयकको विरोध गर्नेमा जसपा नेपालले नै अगुवाइ गरेको थियो ।
सत्ता पक्ष भएर पनि यसरी सरकारको आलोचना गर्नुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक रूपमा लिएका छैनन् । सरकारलाई समर्थन गरेर पनि सरकारसँग राम्रो सम्बन्ध नहुनुले समर्थन दिनु कति उचित हुने विषयमा छलफल गरेर एउटा निर्णय लिने जसपा नेपालका ती नेताले बताए ।
